INTEGRATED FARMING | AGRICULTURAL TRAININGS | AGRO-TOURISM

‘कृषि क्रान्ति’ मा इजरायल पढेका युवा

source: ekantipur

अर्थ/वाणिज्य

‘कृषि क्रान्ति’ मा इजरायल पढेका युवा

  • -परम्परागत खेतीलाई आधुनिकीकरणमार्फत् एकीकृत कृषिबस्ती बसाल्दै
  • -तत्काल २ सय २० रोपनी जग्गा खरिद गरिएकोमा ६ सय रोपनी पुर्‍याइने योजना
– आश गुरुङ, लमजुङ

श्रावण २७, २०७४-

ब्राहमणले हलो जोत्न र कृषि कर्म गर्न हुँदैन भन्ने पुरातन मान्यतालाई २००६ साउन ११ मा पण्डित तोयानाथ अधिकारीको नेतृत्वमा २७ जनाले दुराडाँडाबाट ‘हलोक्रान्ति’ गरी तोडेका थिए । त्यही दुराडाँडा क्षेत्रमा सात दशकपछि युवाहरू आधुनिक ‘कृषिक्रान्ति’ मा जुटेका छन् ।
निर्वाहमुखी र परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै एकीकृत कृषिबस्ती बसाल्न सुरु गरिएको छ । इजरायलमा कृषिविज्ञान पढेर आएका ५३ जना र इजरायलकै गैरआवासीय २१ नेपालीले यसको सुरुवात गरेका हुन् ।
उक्त कार्यमा पुन: २० जना युवा थपिएर ९४ पुगेका छन् ।
यसमा नेपालका २४ जिल्लाका युवाहरू छन् । उनीहरूले प्रतिव्यक्ति २ लाखदेखि १० लाख रुपैयाँसम्म लगानी गरेका छन् । उनीहरूले २ सय २० रोपनी जग्गा खरिद गरेर सुरु गरेका हुन् । योजनाअनुसार ६ सय रोपनी पुर्‍याइनेछ । सुरुमा उनीहरूले गोलभेंडा साथै विभिन्न तरकारीको बिरुवा उमार्न ग्रिनहाउस (हरितगृह) निर्माण गरेका छन् । कुखुरापालनका लागि खोर पनि तयार पारेका छन् ।
युवाहरूले आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिटेड स्थापना गरेर सुन्दरबजार नगरपालिका ३ चन्द्रेश्वर जल्केनीफाँट (दुराडाँडा अर्चल्यानी नजिकै) मा सामूहिक कृषिबस्तीको सुरुवात गरेका हुन् । उक्त ठाउँको सय रोपनीमा तरकारी खेती, २० रोपनीमा ब्रोइलर कुखुरापालन, सय रोपनीमा गाईपालन र सय रोपनीमा बाख्रापालन गरिने आराभाका अध्यक्ष विनोद घिमिरेले बताए । त्यसैगरी १० रोपनीमा बंगुरपालन, १५ रोपनीमा माछापालन, ५ रोपनीमा हाँस र लोकल कुखुरापालनलगायत गरिने उनले जनाए । ‘हामी यसलाई तालिम केन्द्रको रूपमा विकास गर्छौं र कृषि पर्यटनसँग जोड्छौं,’ उनले भने । साना किसान विकास बैंकमार्फत आधुनिक कृषि प्रणालीबारे अध्ययन गर्न इजरायल पुगेका उनीहरूले पहिलो चरणमा १७ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । हालसम्म ३ करोड रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । इजरायलको आराभा भन्ने स्थानको नामबाट स्थापना गरिएको उक्त संस्थाले सञ्चालन गर्ने एकीकृत कृषिबस्ती मुलुककै पहिलो र एक मात्र आधुनिक कृषि परियोजना हुने सञ्चालक देवराज आचार्यले बताए । उनका अनुसार पूर्वाधारदेखि सबैखाले निर्माण गर्न युवा आफैं खटिएका छन् ।
सञ्चालक प्रवीणप्रमोद खतिवडाका अनुुसार इजरायलमा अध्ययनसँगै प्रयोगात्मक रूपमा गरिएका कृषिकार्य र प्रविधिलाई नेपालमा प्रयोग गर्न लागिएको हो । ‘मरुभूमिमा हरिया तरकारी फलाउन सकिने प्रविधि हामीले सिकेका छौं,’ उनले भने, ‘त्यहीँको प्रविधि पछ्याउँदै नेपालमा कृषि परियोजना सञ्चालन गर्न लागेका हौं ।’
कम्पनीले सुन्दरबजार नगरपालिका ८ भोटेओडार सिउँडीबारमा डेरी स्थापना गरेको छ । सुन्दरबजार, बेंसीसहर साथै नजिकै तनहुँका दूध संकलन गरेर डेरी स्थापना गरिएको कम्पनीका अध्यक्ष घिमिरेले बताए । पछि कम्पनीले पाल्ने गाईको दूधलाई पनि उक्त डेरीबाटै बजारमा पठाइनेछ । कम्पनीले फ्रेस हाउस पनि सञ्चालन गर्ने उनले बताए । उत्पादित वस्तु, लमजुङ, पोखरा, डुम्रे, दमौलीलगायत देशका विभिन्न भागमा पुर्‍याइने उनले बताए । उत्पादन सुरु हुन थालेपछि कम्तीमा १ सयजनाले नियमित रोजगारी पाउनेछन् ।
इजरायलबाट फर्केका युवाको पौरख देखेर नेपालका लागि इजरायली राजदूत यारोन मायर र उनकी पत्नीले ‘तारिफ’ गरेका छन् । उनले एकलभन्दा एकीकृत कृषिको विकास सहज हुने बताए । ‘इजरायलको मरुभूमिमा समेत कृषि कर्म गरेर युवाले नमुना प्रस्तुत गरेका छन् । यहाँ त काम गर्न नसक्ने कुरै भएन,’ उनले भने । कृषिमा आधुनिकीकरणको खाँचो रहेको उनले बताए । सांसद भीष्मनाथ अधिकारी, चन्द्रबहादुर कुँवर, जमिन्द्रमान घले, सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्र, साना किसान बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्मालगायतले देशमा राजनीतिक क्रान्ति सकिएको र आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिए ।

 

Leave a Comment