लमजुङको चन्द्रेश्वरमा विदेशबाट फर्किएका युवाहरुले थाले कृषि क्रान्ति, इजरायली राजदुतद्धारा अवलोकन
Source: Lamjung Daily
शान्ता कमली २५ साउन । विदेशबाट फर्केर केही युवाहरुले लमजुङमा कृषि कर्म सुरु गरेका छन् । देशका विभिन्न जिल्लाका युवाहरु आपसमा मिलेर लमजुङमा कृषि कर्म सुरु गरेका हुन् । देश विदेशमा रही कृषि क्षेत्रमा काम गरेका शिक्षित युवाहरु पढेलेखेका कृषि सम्बन्धी बुझेका व्यक्तिले नै कृषि कर्म गर्ने भन्दै आफुहरु आपसमा मिली कृषि कर्ममा लागिपरेको उनीहरु बताउँछन् । कम्पनीमा अहिले ९४ जना आवद्ध छन् । उनीहरुले आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिटेड दर्ता गरेका छन् । अहिले कम्पनीले सुन्दरबजार–३ अर्थात साविक चन्द्रश्वेरमा २ सय रोपनी जग्गामा १ सय गाई पाल्न सक्ने गोठ, ३ सय वाख्रा पाल्न सक्ने आधुनिक खोर, १० हजार कुखुरा पाल्न सक्ने कुखुराको खोर निर्माण गरिसकिएको कम्पनीका सञ्चालक कृष्णप्रसाद वजागाइँले बताए ।
‘गाईपालन, वाख्रपालन, कुखुरापालन, हाँसपालनको साथमा तरकारी खेती, फलफूल खेतीका साथै एग्रो टुरिज्म गर्ने लक्ष्य अनुसार काम गरेका छौँ, हाम्रो लक्ष्य अनुसार काम गर्न झण्डै ६ सय रोपनी जग्गा आवश्यकता पर्छ,’ उनले भने । सुरुको चरणमा १७ करोड लगानी गर्ने हाम्रो अनुमान छ । अहिले थप भौतिक संरचना निर्माणको काम भईरहेको छ ।
लमजुङ कृषि कर्मका लागि उपयुक्त ठाउँ भएकाले पनि आफुहरुले कृषि व्यावसाय सञ्चालनका लागि यो ठाउँलाई रोजेको कम्पनीका सञ्चालक विनोद घिमिरले बताए । ७ वर्ष ईजरायलमा काम गरेका घिमिरेले देशमै केही गर्न सकिने समभावना देखेर विदेशी मोह त्यागेर नेपाल फिर्ती भई कृषि कर्मममा जुटेको पनि बताए । उनीहरुले सुरु गर्न लागेको कृषि फार्ममा पुगी नेपालका लागि ईजरायली राजदूत यारोन मायरले विदेशमा सिकेकोसीप स्वदेशमै खर्चिएकोमा खुशी व्यक्त गरे । ईजरायलको आराभा भन्ने ठाउँ मरुभूमी रहेको तर पनि त्यहाँका कृषकले नयाँ नयाँ प्रविधि अपनाई खेती गरे, राम्रो आम्दानी गर्न सफल भए । उनीहरुको काममा राज्य र स्थानीयले पनि सघाउ पुर्याए,उनल भने ।
ईजरालदमा सिकेको सीप, ज्ञानलाई नेपालकै माटोमा पोख्नुपर्नेमा उहाँले जोड दिए । व्यावसायिक कृषि र पशुपालनका अलावा कम्पनीले आधुनिक कृषि प्रणालीका बारेमा कृषकलाई तालीम दिने, कृषि एकेडेमी खोल्ने, देशकै नमूना कृषि पर्यटन केन्द्रको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । कृषि अनुसन्धान केन्द्र स्थापना गर्नका लागि इजरायल सरकार र सम्बन्धित अन्य संस्थासँग पहल भइरहेको कम्पनीको भनाइ छ । परियोजनालाई ६ सय रोपनीमा विस्तार गर्न जग्गा खरीदको कामसमेत अगाडि बढिरहेको छ । कम्पनी शुरू भएपछि तत्कालै सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । परियोजना सञ्चालनपछि आगामी १० वर्षमा ७ ओटै प्रदेशमा यस्ता कृषि परियोजना स्थापना गरी कृषि क्षेत्रमा नयाँ आयाम ल्याउने कम्पनीको विश्वास छ ।